Showing posts with label Pursuit of justice. Show all posts
Showing posts with label Pursuit of justice. Show all posts

Saturday, January 8, 2011

बेपत्ताकी पत्नी घरनिकाला

जनक नेपाल

नेपालगन्ज, पुस २३ -
बेपत्ता पतिको खोजीमा भौंतारिइरहेकी बर्दिया मोतीपुर ५ मदाहागाउँकी शोभारानी थारूलाई परिवारले घरनिकाला गरेका छन् । उनी नातेदारकहाँ बसेर पतिको खोजी र अंश मुद्दा लडिरहेकी छन् ।

'दुःखमा परेका बेला सहारा दिनुको साटो घरबाटै निकाले' उनले कान्तिपुरसित भनिन्, 'घरजग्गा, अंश केही दिएका छैनन् । ज्याला मजदुरी गरेर बाँचेकी छु,' उनले अंशबन्डाका लागि जिल्ला अदालतमा मुद्दा दिएकी छन् । त्यस्तै, बेपत्ता पतिको स्थिति सार्वजनिक हुने आशामा उनी राष्ट्रिय मानव अधिकार आयोग धाउँदै छिन् । स्थानीय शान्ति समितिले उपलब्ध गराएको एक लाख राहत मुद्दा लड्दा खर्च भएको शोभारानीले बताइन् । सासू-ससुराले एक बिघा १७ धुर जग्गा र घर सबै छोरीहरूलाई दिएपछि उनी बेसहारा भएकी हुन् । 'सासूससुराका चार छोरी छन् । छोरा बेपत्ता भयो, अब बुहारीलाई किन राख्ने भनेर घरबाट निकाले' उनले भनिन् ।

बाबुराम र शोभारानीका दुई छोरा थिए । उनीहरू बिरामी भएर मृत्यु भएपछि शोभारानी अहिले एक्लै भएकी छन् । थारू उत्थान केन्द्रले उपलब्ध गराएको ४ हजार सहयोगबाट गाउँमा सानो घुम्ती पसल राखेकी छन् । त्यसबाट जीविकोपार्जन नभएपछि उनी दैनिक ज्यालादारी गर्छिन् । शोभारानीका पति बाबुरामलाई सुरक्षाकर्मीले ०५९ असोज १६ मा पक्राउ गरी बेपत्ता पारेको हो । उनीसँगै गाउँका दरबारी, तुल्सीराम, लक्षीराम, कालीराम र बाँदु थारू पनि बेपत्ता छन् । राष्ट्रिय मानव अधिकार आयोगले उनीहरूको अवस्था यथाशीघ्र सार्वजनिक गर्न, दोषीको पहिचान गरी कारबाही र पीडितलाई अन्तरिम राहतस्वरूप एक लाख उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको एक वर्ष बित्दासमेत निर्णय कार्यान्वयन भएको छैन ।

'राहत पाइन्छ कि भनेर आएकी हुँ' आयोगको क्षेत्रीय कार्यालय पुगेकी ३८ वषर्ीय शोभारानीले भनिन्, 'यो राहत पनि सासूससुराले लैजाने डर छ ।' आयोगले ०६६ मंसिर ८ मा  निर्णय गरी २२ गते प्रधानमन्त्री कार्यालयलाई उक्त निर्देशन दिएको हो । राष्ट्रिय मानव अधिकार आयोगका क्ष्ाेत्रीय निर्देशक मुरारी खरेलले आयोगका सिफारिस बाध्यकारी कार्यान्वयन भएमात्र दोषीले कारबाही र पीडितले न्याय पाउने बताए । 'दोषीको पहिचान गरी कारबाही गर्नुपर्ने सिफारिस एउटै पनि कार्यान्वयन भएको छैन,' खरेलले भने । इन्सेकका अनुसार राज्य र तत्कालीन विद्रोही माओवादीबाट १ हजार ६ जना नागरिक बेपत्ता छन् । बर्दियामा मात्र माओवादीबाट १४ सहित २ सय २० जना बेपत्ता छन् ।



प्रकाशित मिति: २०६७ पुस २४ ०९:२९

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=234169