जनक नेपाल
बेपत्ता पतिको खोजीमा भौंतारिइरहेकी बर्दिया मोतीपुर ५ मदाहागाउँकी शोभारानी थारूलाई परिवारले घरनिकाला गरेका छन् । उनी नातेदारकहाँ बसेर पतिको खोजी र अंश मुद्दा लडिरहेकी छन् ।
'दुःखमा परेका बेला सहारा दिनुको साटो घरबाटै निकाले' उनले कान्तिपुरसित भनिन्, 'घरजग्गा, अंश केही दिएका छैनन् । ज्याला मजदुरी गरेर बाँचेकी छु,' उनले अंशबन्डाका लागि जिल्ला अदालतमा मुद्दा दिएकी छन् । त्यस्तै, बेपत्ता पतिको स्थिति सार्वजनिक हुने आशामा उनी राष्ट्रिय मानव अधिकार आयोग धाउँदै छिन् । स्थानीय शान्ति समितिले उपलब्ध गराएको एक लाख राहत मुद्दा लड्दा खर्च भएको शोभारानीले बताइन् । सासू-ससुराले एक बिघा १७ धुर जग्गा र घर सबै छोरीहरूलाई दिएपछि उनी बेसहारा भएकी हुन् । 'सासूससुराका चार छोरी छन् । छोरा बेपत्ता भयो, अब बुहारीलाई किन राख्ने भनेर घरबाट निकाले' उनले भनिन् ।
बाबुराम र शोभारानीका दुई छोरा थिए । उनीहरू बिरामी भएर मृत्यु भएपछि शोभारानी अहिले एक्लै भएकी छन् । थारू उत्थान केन्द्रले उपलब्ध गराएको ४ हजार सहयोगबाट गाउँमा सानो घुम्ती पसल राखेकी छन् । त्यसबाट जीविकोपार्जन नभएपछि उनी दैनिक ज्यालादारी गर्छिन् । शोभारानीका पति बाबुरामलाई सुरक्षाकर्मीले ०५९ असोज १६ मा पक्राउ गरी बेपत्ता पारेको हो । उनीसँगै गाउँका दरबारी, तुल्सीराम, लक्षीराम, कालीराम र बाँदु थारू पनि बेपत्ता छन् । राष्ट्रिय मानव अधिकार आयोगले उनीहरूको अवस्था यथाशीघ्र सार्वजनिक गर्न, दोषीको पहिचान गरी कारबाही र पीडितलाई अन्तरिम राहतस्वरूप एक लाख उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको एक वर्ष बित्दासमेत निर्णय कार्यान्वयन भएको छैन ।
'राहत पाइन्छ कि भनेर आएकी हुँ' आयोगको क्षेत्रीय कार्यालय पुगेकी ३८ वषर्ीय शोभारानीले भनिन्, 'यो राहत पनि सासूससुराले लैजाने डर छ ।' आयोगले ०६६ मंसिर ८ मा निर्णय गरी २२ गते प्रधानमन्त्री कार्यालयलाई उक्त निर्देशन दिएको हो । राष्ट्रिय मानव अधिकार आयोगका क्ष्ाेत्रीय निर्देशक मुरारी खरेलले आयोगका सिफारिस बाध्यकारी कार्यान्वयन भएमात्र दोषीले कारबाही र पीडितले न्याय पाउने बताए । 'दोषीको पहिचान गरी कारबाही गर्नुपर्ने सिफारिस एउटै पनि कार्यान्वयन भएको छैन,' खरेलले भने । इन्सेकका अनुसार राज्य र तत्कालीन विद्रोही माओवादीबाट १ हजार ६ जना नागरिक बेपत्ता छन् । बर्दियामा मात्र माओवादीबाट १४ सहित २ सय २० जना बेपत्ता छन् ।
प्रकाशित मिति: २०६७ पुस २४ ०९:२९
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=234169
No comments:
Post a Comment