Tuesday, December 14, 2010

जग्गा फिर्ता होइन खोस्नु पर्छ : वैद्य

smaller text tool iconmedium text tool iconlarger text tool icon
नेपालगन्ज, मंसिर २८ (नागरिक) एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले कब्जा गरिएका जग्गा फिर्ता नभई अझै खोस्नु पर्ने बताएका छन्।केन्द्रीय तहमा माओवादीले कब्जा गरिएका सम्पत्ति फिर्ता गर्ने सहमति गरिसके पनि वैद्यले सोमबार अखिल नेपाल किसान संघको छैटौ राष्ट्रिय सम्मेलनको उदघाटन गर्ने बेला  जग्गा फिर्ता नगर्न निर्देशन दिए। 
'जग्गा जोत्नेको हातमा हुनुपर्छ। त्यसकारण किसानले कब्जा गरेको जग्गा फिर्ता गर्ने होइन। अझै जग्गा कब्जा गर्नुपर्छ उनले भने। वैद्यले सम्पुर्ण किसानहरुलाई गोलबन्द गरी जनगणतन्त्रका लागि संसदवाद विरुद्ध लड्नसमेत आव्हान गरे।
उनले चाडै केन्द्रीय कमिटीको बैठकले संघर्षका योजना तय गर्ने जानकारी दिए। एकताबद्ध भएर जनवादी क्रान्तिका लागि दृढ रहन खरिपाटी र पालुङ्टार बैठकले सन्देश दिएको उनको भनाइ छ। अन्य दल र व्यक्तिहरुले माओवादीलाई असफल बनाउन चाहिरहेको उल्लेख गर्दै उनले भने, ' संसदवादमा पसोस्। एमालेकरण होस। आत्मसमर्पण गरोस भन्ने चाहिरहेका छन्। तर हामी झुक्दैनौ। क्रान्ति सफल पार्न फेरि दश वर्ष बन्दुक उठाउन तयार छौं।' संसदवाद विरुद्ध लड्नका लागि तयार रहन आव्हान गर्दै उनले सर्वहारा किसान तथा विभिन्न तह र तप्काका जनताको साथमा जनवादी क्रान्ति गर्ने दावी गरे।
नयाँ संविधान लेख्न नदिने प्रयास भइरहेको दावी गर्दै पहिला दरवारबाट र अहिले दिल्लीबाट त्यस्तो प्रयास र निर्देशन हुने गरेको उनको आरोप छ। बाहिरी षडयन्त्रका कारण शान्ति प्रक्रिया सफल हुने तथा संविधान बन्न सम्भावना कम हुदै गएको उनको भनाइ छ। अन्य राजनीतिक दलहरूले माओवादीलाई जिम्मेवारी नदिई सबै ठाउँबाट पन्छाइको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। यथास्थितीवादका विरुद्ध भीषण प्रकारको संघर्षको जरुरी रहेको उनले बताए। एकताबद्ध भएर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने दिशामा पार्टी अघि बढिरहेको वैद्यले बताए।
कार्यक्रममा बोल्दै कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यले मजदुर र किसानको नेतृत्वमा नयाँ जनवादी क्रान्ति पूरा गर्नु पर्ने बताए। माओवादी पश्चिम व्युरो इञ्चार्ज लीलामणि पोखरेलले क्रान्तिको आधा हिस्सा अगाडि बढाई सकिएको र अब किसानलाई श्रमको मालिक बनाउने जिम्मेवारी बाँकी रहेको बताए।
पोलिटव्युरो सदस्य एवं थारुवान राज्य समिति इञ्चार्ज हरिभक्त कँडेलले किसानको आन्दोलनले क्रान्तिकारी दिशानिर्देश गर्ने बताए। कार्यक्रममा अखिल भारत किसान महासंघका महासचिव दव्य दिवाकरले नेपालमा क्रान्ति सम्पन्न हुन नदिन भारत खेलाडीका रुपमा उदाएको बताए।


http://www.nagariknews.com/politics/party-politics/21351-2010-12-13-13-42-58.html

No comments:

Post a Comment