विशेष समिति सचिवालय संयोजकमा पूर्वरथी शर्मा
काठमाडौ, मंसिर १५ - माओवादी लडाकु रेखदेख, अनुगमन र पुनःस्थापनासम्बन्धी विशेष समितिले आफू मातहतका लडाकुलाई नियन्त्रण गर्ने गरी गठित सचिवालयको संयोजकमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । केही समययता अवरुद्ध शान्ति प्रक्रिया सुचारु भएको रूपमा यसलाई हेरिएको छ ।
संयोजकबारे विवाद भइरहेका बेला माओवादी लचक बनेपछि मंगलबार उक्त निर्णय भएको हो । माओवादीले लडाकु कमान्डर नन्दकिशोर पुनलाई सचिवालय संयोजक बनाउनुपर्ने अडान राखेकाले गठनको साढे दुई महिनासम्म पनि संयोजक तोकिएको थिएन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले गोरखाको पालुङटारमै काठमाडौं फर्केपछि शान्ति प्रक्रियामा 'ब्रेक थु्र' हुने बताएका थिए ।
'ब्रेक थु्र' यही हो भन्ने प्रश्नमा माओवादी सैन्य इञ्चार्ज वर्षमान पुनले भने, 'हो, हामी विस्तारित बैठकपछि अझ बढी लचकतासाथ शान्ति प्रक्रिया र संविधान निर्माणमा केन्दि्रत हुन्छौं भन्ने कुराको संकेत हो यो । अब अन्य दलले पनि समायोजन र पुनःस्थापना प्याकेजमा लचकता देखाउनुपर्छ ।'
प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा सिंहदरबारस्थित उनकै कार्यकक्षमा बसेको समिति बैठकले शर्मालाई संयोजक तोकेको हो । शर्मा सचिवालयमा परिणत हुनुअघिको प्राविधिक समिति संयोजक थिए । माओवादीले सहसंयोजक आफूलाई दिन माग गरे पनि त्यसबारे कुनै निर्णय नभएको स्रोतले बतायो ।
संयोजक शर्माले अनमिन र्फकने निश्चित भइसकेकाले ऊ रहुन्जेल पुस मसान्तसम्म शिविरलाई सचिवालय मातहत ल्याउनुपर्ने बताए । 'त्यसो भए समायोजन र पुनःस्थापनाका बाँकी काममा सहमति जुटाउँदै अगाडि बढ्न सकिन्छ,' संयोजक नियुक्त भएलगत्तै कान्तिपुरसित उनले भने । अनमिनको फिर्तीपछि लडाकुलाई विशेष समिति सचिवालयको 'कमान्ड-कन्ट्रोल' मा ल्याउने तयारी गरिँदैछ ।
समिति सदस्य तथा कांग्रेस नेता रामशरण महतले राजनीतिक मामिलासम्बन्धी राष्ट्रसंघीय उपमहासचिव बी लिन पास्को यसैसाता नेपाल भ्रमणमा आउन लागेकाले माओवादीले शान्ति प्रक्रियाप्रति इमान्दार रहेको देखाउन संयोजक चयनमा सहमति जनाएको बताए । 'खासमा राष्ट्रसंघलाई देखाउन हो । यसमा विस्तारित बैठकको पनि केही प्रभाव होला,' उनले भने, 'आगामी दिनमा उनीहरू कसरी अघि बढ्छन्, शान्ति प्रक्रियाप्रति उनीहरूको प्रतिबद्धता त्यसैले देखाउँछ ।'
उपमहासचिव पास्को भारत हुँदै शुक्रबार नेपाल आउँदै छन् । स्रोत अनुसार भारतमा पास्कोले विदेशमन्त्री प्रणव मुखर्जी, सचिव निरूपमा राव र राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननलगायतसँग भेट्ने कार्यक्रम छ ।
समितिले अनमिनको अन्तिम पटक समयावधि थपेकै बेला भदौ ३१ मा 'माओवादी सेनाका लडाकुहरूको रेखदेख, नियन्त्रण, निर्देशन प्रक्रिया र आचारसंहिता निर्देशिका- २०६७' पारित गर्दै सचिवालय गठन गरेको थियो । समितिले विगतको ८ सदस्यीय प्राविधिक समितिलाई सचिवालयमा परिणत गरी माओवादी, सेना, प्रहरी र सशस्त्र प्रहरीका एक/एक प्रतिनिधि थप्ने निर्णय गरेको हो ।
शर्माले ०२४ सालमा सेकेन्ड लेफि्टनेन्टबाट प्रवेश गरी ०६४ मा रथीबाट अवकाश पाएका थिए । उनले सन् २००४ देखि २००७ सम्म गोलानहाइटमा राष्ट्रसंघीय सैनिक मिसन प्रमुख भई काम गरे । २०६२ चैतमा कांग्रेस कोटाबाट प्राविधिक समिति सदस्य बनेका शर्माले त्रिभुवन विश्वविद्यालयमा 'कन्पिmलक्ट, पिस एन्ड डेभलपमेन्ट स्टडिज' पढाउँछन् ।
सचिवालयमा शर्माबाहेक कांग्रेसका शम्भुराम सिंखडा, माओवादीका चन्द्रप्रकाश खनाल र कुलबहादुर केसी, एमालेका दीपकप्रकाश भट्ट र गोपालसिंह बोहरा, मधेसी फोरमका सदानन्दप्रसाद कुर्मी र रामानन्द मिश्र, सेनाका सहायकरथी महेश कार्की, प्रहरीका नायब महानिरीक्षक केशबहादुर शाही र सशस्त्रका सिंहबहादुर श्रेष्ठ सदस्य छन् । माओवादीले आफ्नातर्फबाट थप एक सदस्य पठाउन बाँकी छ ।
प्रकाशित मिति: २०६७ मंसिर १५ ०८:२७
प्रकाशित मिति: २०६७ मंसिर १५ ०८:२७
No comments:
Post a Comment