Friday, December 10, 2010

दुई छोराको खोजीमा ६ वर्ष



    जे पाण्डे
    बर्दिया डेउढाकालाकी सावित्रीदेवी अधिकारी द्वन्द्वकालमा बेपत्ता भएका दुई सैनिक छोरा धर्मेन्द्र र कृष्णको तस्बिर हेर्दै। तस्विरः जे पाण्डे
    नेपालगन्ज, मंसिर २४ - बर्दिया डेउढाकला ९ बनगौडीका चेतनारायण अधिकारीले बेपत्ता दुई छोराको खोजी गर्न थालेको ६ वर्ष बितिसकेको छ । दुवै छोराको अवस्था अझसम्म अज्ञात नै छ । 'सोध्दैखोज्दै हिँड्दा थाकिसकें,' उनले भने, न छोरा फेला पारे, न त सरकारले राहत दियो ।
    नेपाली सेनामा कार्यरत जेठो छोरा धर्मेन्द्र कर्णाली पुल सुरक्षामा खटिएका बेला ०६१ पुस ७ गते माओवादीसँग दोहोरो भिडन्तपछि बेपत्ता भएका थिए । कान्छो कृष्णलाई पनि साउन ३ गते माओवादीले अपहरण गरी बेपत्ता पारेका हुन् ।
    भिडन्तमा पुलको दुवैतिरबाट आक्रमण हुँदा ज्यान जोगाउन करिब २ फिट माथिबाट सहायक लेफटनेन्ट रमेशकुमार बन्जारा, जवान दिलबहादुर भुजेलसहित ५ जना सेना देशकै ठूलो कर्णाली नदीमा हामफालेका थिए ।
    तीमध्ये बन्जरा र भुजेललाई नदीबाट निस्केपछि माओवादीले कब्जामा लिई अपहरण गरे । १४ दिनपछि उनीहरूलाई अधिकारवादीहरूले मुक्त गराएका थिए । दुई सैनिक दाजुभाइको भने अझै अत्तोपत्तो छैन ।
    माओवादीले यी बेपत्ता दाजुभाइलाई अपहरण गरे/नगरेबारे प्रतिक्रिया दिएको छैन । सरकारले पनि जीवित रहे नरहेको पुष्टि नभएकाले परिवारले पाउने आर्थिक सहयोग दिन अस्वीकार गरेको छ ।
    परिवारका सदस्यहरू सेनाको जिल्लादेखि केन्द्रसम्मका सबै निकाय र मन्त्रालय धाउँदा दिक्दार भइसकेका छन् । बेपत्ता दाजुभाइका बाबु कृष्ण अधिकारीले कान्तिपुरसित भने, भद्रकालीस्थित सैनिक अभिलेखालयले राहत र क्षतिपूर्तिको फाइल नै थन्काइदियो ।
    यसका लागि जिल्ला प्रशासन, प्रहरी र सुरक्षा समितिले सेनालाई लिखित अनुरोध गरेको पनि दुई वर्ष बितेको छ । यी निकायले कणर्ाली भिडन्तमा रणशेर गणका प्युठ धर्मेन्द्रलाई माओवादीले कब्जामा लिई हत्या गरेको र भवानी बक्स गुल्मबाट उपचारका लागि घर आएका सिपाही कृष्णलाई अपहरण गरी हत्या गरेको भन्दै राहत र क्षतिपूर्ति दिन सिफारिस गरेका हुन् ।
    लासमात्र देख्न पाए पनि चित्त बुझ्ने थियो । आमा सावित्रादेवीले रुँदै भनिन्, 'काजकिरिया पनि गर्न पाइएन । पीडित परिवारले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर छोराहरूको अवस्था सार्वजनिक गरी क्षतिपूर्तिका लागि अनुरोध गरेको पनि दुई वर्ष हुन थाल्यो ।
    सबै सुरक्षा निकायले ती सैनिक दाजुभाइले वीरगति प्राप्त गरेको दाबी गरेका छन् । सेनाले भने उनीहरूको पद यथावत् राखेको छ । मृत्यु वा अपहरण पुष्टि नहुँदासम्म पद खाली हुँदैन । बाँकेको राझास्थित नम्बर ४ बाहिनी सैनिक अड्डाका निमित्त बाहिनीपति नैनराज दाहालले
    भने, 'जसका कारण परिवारका सदस्यले पाउनुपर्ने सरकारी सुविधाबाट समेत वञ्चित
    भएका हुन् ।'
    कर्णाली पुलको उक्त घटनामा ५ सैनिक, ५ सर्वसाधारण र २ माओवादीको मृत्यु भएको थियो । उनीहरूमध्ये अधिकांशका परिवारले राहत तथा क्षतिपूर्ति पाएका छन् । नरसिंह दल गणका सिपाही मानबहादुर साउ पनि ८ वर्षदेखि बेपत्ता छन् । उनी माओवादीले सल्यानको गेरासेमा ०५९ जेठ २९ गते भएको भिडन्तपछि  बेपत्ता भएका हुन् । इन्सेकका भोला महतले भने, 'बेपत्ता सेनाको अवस्था त यस्तो छ । अरूको झन् कस्तो होला ।'
    बाँके र बार्दियासहित मध्यपश्चिममा करिब ५ सयभन्दा बढी बेखबर छन् । उनीहरू अधिकांशका परिवारले क्षतिपूर्ति पाएका छैनन् ।


    प्रकाशित मिति: २०६७ मंसिर २४ ०८:३३

    No comments:

    Post a Comment